केन्द्रीय तथ्यांक विभागले गरेको यस पटकको जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसंख्यामध्ये १ करोड २९ लाख २७ हजार ४सय ३१ (४८.५६ प्रतिशत) पुरुष र १ करोड ३६ लाख ९३ हजार ३ सय ७८ (५१.४४ प्रतिशत) महिला छन् । पुरुषको भन्दा महिलाको संख्या ७ लाख ६६ हजार अथवा ३ प्रतिशतले बढी छ । बढ्दो वैदेशिक रोजगारका कारण पनि महिलाको संख्या बढेको हुन सक्ने विश्लेषकहरु बताउछन्, किनकि तथ्यांकअनुसार विदेशमा रहने नेपालीको संख्या १९ लाख १७ हजार छ, जसलाई कुल जनसंख्यामा समावेश गरिएको छैन । यसमध्ये महिला १३.३ प्रतिशत र पुरुष ८६.७ प्रतिशत छन् । यो नतिजा त्यति धेरै अनपेक्षित र आत्तिहाल्नु पर्ने देखिँदैन, तर आज नेपालमा घटिरहेका केही त्रूmर तथा पाशविक घटना जस्तै लिङ्ग पहिचानको आधारमा गरिने बालिका भ्रूणहत्या तथा नवजात बालिका हत्याका घटनाहरुले नेपालको महिला जनसंख्या वृद्धि दरमा भने खराब असर पार्ने सम्भावना प्रबल देखिन्छ । छिमेकी देश भारतकै उदाहरण हेर्ने हो भने सन् १९९० को जनगणनामा भन्दा सन् २००१ को जनगणनामा महिलाको संख्या २० लाखले घटेको थियो । यो संख्या महिलाको अपेक्षित जनसंख्याभन्दा निकै कम थियो । छोरी भएपछि हत्या गर्ने वा गर्भपात गर्ने कारणले भारतमा यस्तो समस्या देखिएको थियो । stop sex selective abortion
यस्तै प्रवृत्ति नेपाली समाजमा आजपर्यन्त पनि विद्यमान छ । २०६५ र ०६६ का २४ महिनामा नेपालको राजधानी काठमाण्डौँ उपत्यकाका विभिन्न ठाउँमा ७० वटा शिशुका बेवरिसे शव फेला परे । लिंग पत्ता लागेका ६६ वटामध्ये ६५ प्रतिशत छोरी थिए । गत वर्ष १ वैशाखदेखि ३० चैतसम्म त्रिवि शिक्षण अस्पतालमा मात्रै ७० वटा मृत शिशुको पोस्टमार्टम भयो । डा मनोज श्रेष्ठले गरेको अध्ययन अनुसार, तीमध्ये ३९ शिशुको हत्या गरेर फालिएको प्रमाणित भयो । यसरी हत्या हुनेमा २५ जना छोरी थिए । अध्ययनमा संलग्न अनुसन्धानकर्ता लोकहरि बस्यालको अनुसार, कतिपय दम्पतीले छोराको चाहना गर्दागर्दै छोरी जन्मिएका कारणले हत्या गरेको भेटिन्छन् ।

यसरी जन्मिएपछि मात्रै नभई गर्भमै समेत बालिका हत्या गर्ने प्रवृत्ति पनि नेपाली समाजमा भित्रभित्रै मौलाउँदो छ । अल्ट्रासाउण्ड प्रविधिको दुरुपयोग गरेर अधिकांश दम्पतीले गर्भमै शिशुको लिंग पहिचान गरी गर्भपात गर्ने प्रचलन छ । नेपालको कानुनले लिंग पहिचानको आधारमा गरिने यस्तो गर्भपातलाई अवैद्य मान्छ । अल्ट्रासाउण्ड प्रविधिको प्रयोगद्वारा भ्रूणको लिंग बताउने र बताइ माग्ने दुवै कामलाई कानुनले निषेध गरेको छ । अपराध अनुसन्धान विभागका अनुसार, गत आर्थिक वर्ष ०६६÷६७ मा मात्रै यस्तै अवैद्य गर्भपातसम्बन्धी १५ वटा मुद्दा अदालतमा दर्ता भएका थिए । चिकित्सकहरुका अनुसार, अधिकांश दम्पतीले छोरी भएको थाहा पाएपछि अवैद्य गर्भपतनको जोखिम पनि मोल्न तयार हुन्छन् । रिड नेपाल नामक एक गैरसरकारी संस्थाले सन् २००९ मा गरेको उपत्यकाव्यापी सर्वेक्षणमा १७.३ प्रतिशत महिलाले छोरा चाहने र २.८ प्रतिशतले मात्रै छोरी चाहेको देखाएको छ । महिला स्वास्थ्यको क्षेत्रमा कार्यरत डा अरुणा उप्रेती यस्तो प्रक्षेपणलाई स्वीकार्दै भन्छिन्, “गर्भस्था बालिका र नवजात बालिका हत्याको मूल कारण पनि छोराकै चाहना हो ।”

विश्वको लैंगिक असमानता सूचकांकमा नेपाल ११०औं स्थानमा छ । दक्षिण एसियाली पुरुषप्रधान समाजको एउटा मुख्य अशं नेपाली समाज पनि हो । नेपाली समाज छोराप्रतिको बलियो सामाजिक तथा परम्परागत दृष्टिकोण बोकेको एउटा समाज हो । यहाँ छोरीको भन्दा छोराको चाहना गर्ने दम्पतीको संख्या अधिक छ । पुरुषप्रधान सामाजिक चरित्रका कारण दम्पतीहरुले छोरा जन्मे आपूmलाई बढी सुरक्षित अनुभव गर्छन् । यसैकारण पनि होला, यहाँ बालिका भ्रूणहत्या र नवजात बालिका हत्याको घटनालाई नेपाली समाजले पचाउँदै लगेको आभास हुन्छ । कतिपय अवस्थामा त यस्ता घटना सांस्कृतिक रुपले नै अघोषित रुपमा स्वीकारिरहेको वा पचाइरहेको देखिन्छ । यस्ता घटनापछाडिका कारणहरु खोज्ने सन्दर्भमा समाज, प्रशासन र राज्य मौन छ ।

नवजात बालिका र भ्रूणहत्याले हाम्रो सामाजिक मनोविज्ञानलाई मात्रै होइन, छोराप्रतिको परम्परागत दृष्टिकोणका दुष्प्रभावहरुलाई समेत प्रतिनिधित्व गर्छ, साथै यसले समाजमा आपराधिक मानसिकतालाई पनि मलजल गरिरहेको छ । त्यति मात्रै नभई मानवीय मूल्यमा पनि यस्तो प्रवृत्तिका कारण ठूलो ह्रास आउँदै छ । राज्यले मात्रै यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न सक्दैन, समाजमा सचेतना र व्यक्तिहरुमा मानवीय संवेदनशीलता नभएसम्म यस्तो घटनाहरु भइरहने छन् । यसकारण, समाजमा सचेतना र व्यक्तिहरुमा मानवीय संवेदनशीलता ल्याउने जिम्मेवारी परमेश्वरले हामी मण्डलीहरुनै दिनुभएको छ ।
(स्रोतः नेपाल साप्ताहिक, कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट)

Leave a Reply

Your email address will not be published.